बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ माघ १९ गते अर्थात् बिहीवार बाँडफाँट हुने भएको छ । यसको प्री–अलमेन्ट माघ १६ गते सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ९ः३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँट गरिनेछ । कम्पनीको आईपीओमा मागभन्दा १८ दशमलव ५२ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ ।
आईपीओमा १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ८९ हजार ६४० जनालाई मात्र शेयर प्राप्त हुनेछ । बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि रू. १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
यसमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ भने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २१ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया