कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि माघ ६ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो । 

माघ ५ गतेसम्मको आवेदनको तथ्याङ्कलाई हेर्दा ११ लाख ४७ हजार ५०२ जना आवेदकहरूबाट १ करोड ३३ लाख ९१ ह्जार ८१० कित्ता शेयर खरीद माग भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएको यो तथ्याङ्क अनुसार बिहीवारसम्म मागभन्दा १४ दशमलव ९४ गुणा बढी आवेदन परेको हो । 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत ८ लाख ९६ हजार ४०० कित्ता शेयर विक्रीमा ल्याएको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने शेयर भाग्यमानी ८९ हजार ६४० जना योग्य आवेदकहरूले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले हात पार्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । 

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरीे बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि  अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहबाट पनि आवेदन दिन सक्नेछन् ।