आरएसडिसी लघुवित्तले सार्वजनिक गर्यो दोस्रो त्रैमासको वित्तिय विवरण, ६२% ले बढ्यो नाफा

आरएसडिसी लघुवित्तले सार्वजनिक गर्यो दोस्रो त्रैमासको वित्तिय विवरण, ६२% ले बढ्यो नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ७ करोड ९४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ६२ दशमलव ३४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ४ करोड ८९ लाखभन्दा बढी थियो ।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.३४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ६२.८९ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५८ पैसा बढेर १९ रुपैयाँ ७३ पैसा पुगेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजार रहेको छ । रिटेन्ड अर्निग गत वर्षभन्दा २१९ दशमलव ५९ प्रतिशत बढेर रू. १५ करोड १८ लाखभन्दा बढी पुगेको कम्पनीको जगेडा कोषमा रू. १० करोड ९३ लाखभन्दा बढी रकम सञ्चित रहेको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ५ अर्ब ३२ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ६ अर्ब २८ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जा सापटी २४ प्रतिशत बढेको हो भने कर्जा प्रवाह २२ प्रतिशत बढी भएको हो ।

निष्क्रिय कर्जा गत वर्षभन्दा बढेको छ । गत वर्ष शून्य दशमलव २८ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८१ प्रतिशत पुगेको छ ।