कालिञ्चोक दर्शनको आईपीओ आजबाट सर्वसाधारणको लागी बिक्रिमा

कालिञ्चोक दर्शनको आईपीओ आजबाट सर्वसाधारणको लागी बिक्रिमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शनले आज माघ ३ गते (मंगलवार)देखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । यसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ ।

त्यसैगरी २ प्रतिशतले हुने २१ हजार ६ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४ सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि  अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । छिटोमा माघ ६ गतेसम्म विक्री खुला हुने मिति तय गरिएको छ भने छिटोे अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहबाट पनि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ ।