कालिञ्चोक दर्शनको आईपीओ मंगलवारबाट सर्वसाधारणको लागी बिक्रिमा आउने

कालिञ्चोक दर्शनको आईपीओ मंगलवारबाट सर्वसाधारणको लागी बिक्रिमा आउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडले मंगलवारबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कूल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरेको कम्पनीले बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । अब २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । 

यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओ छिटोमा माघ ६ गतेसम्म विक्री खुला हुने मिति तय गरिएको छ । उक्त अवधिसम्ममा मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर, सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री खुला हुनसक्ने देखिन्छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।