बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंकले मर्जर प्रक्रिया सम्पन्न गरी ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यी दुई बैंक १ बराबर १ शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जर सम्बन्धी प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए ।
यी दुई बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपश्चात् बैंकको केन्द्रीय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने जानकारी बैंकहरूले दिएका छन् । यी दुवै बैंकको एकीकृत कारोबारका लागि डाटा माइग्रेसन प्रयोजनका लागि पुस २२ गतेदेखि २४ गतेसम्म बैंक अफ काठमाण्डूको सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको सेवा बन्द हुने बैंकको भनाइ छ ।



About Us
प्रतिक्रिया