नेप्सेमा आज सामान्य अंकको गिरावट, करोबार रकम भने बढेर साढे ३ अर्ब नजिक

नेप्सेमा आज सामान्य अंकको गिरावट, करोबार रकम भने बढेर साढे ३ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ३.०३ अंकले घटेर २ हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्से घटे पनि करोबार रकममा भने वृद्धि भइ ३ अर्ब रुपैयाँ नाघेको छ । आज नेप्सेमा ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज दुई वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज स्वतगंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२७.९० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३९१.७० रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ भने अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य ९. ९९ प्रतिशतले बढेर प्रतिकित्ता ५६३.७० रुपैयाँ पुगेको छ । 

आज वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।