नेप्से लगातार सुधारोन्मुख, १७.२६ अंकले बजार बढ्दा करोबार रकम ४ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर २ हजार ४६ दशमलब २९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५६.८८ अंकले बढेर २ हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये १२१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ९४१.६० रुपैयाँ पुगेको छ । साथै चार वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज सिद्धार्थ इक्विटी फण्डकोे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यसको आज २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।