५ कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा युनाइटेड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, कालिका पावर र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत, कालिका पावरको १५ प्रतिशत र आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

समायोजनपश्चात युनाइटेड इन्स्योरेन्स्को शेयरमूल्य ३८३ रुपैयाँ ८६ पैसा, फर्स्ट माइक्रोफाइनान्सको ६४१ रुपैयाँ ९ पैसा, फरवार्ड माइक्रोफाइनान्सको १ हजार ९०४ रुपैयाँ, कालिका पावरको ३३५ रुपैयाँ १३ पैसा र आरएसडिसी लघुवित्तको ५२५ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा युनाइटेड इन्स्योरेन्सको शेयर ४०२ रुपैयाँ, फस्ट माइक्रोफाइनान्सको ७६२ रुपैयाँ ९० पैसा, फरवार्ड माइक्रोफाइनान्सको २ हजार ३८० रुपैयाँ, कालिका पावरको ३८५ रुपैयाँ ४० पैसा र आरएसडिसी लघुवित्तको ५६७ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

पुस १७ गते आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।