नेपाल बैंक र प्राइम कमर्सियल बैंक सहित ४ कम्पनीको शेयरमुल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १४ गते, बिहीबार चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा नेपाल बैंक, प्राइम कमर्सियल बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन एचआईडिसीएलको ५ प्रतिशत, मितेरीको १२.३५ प्रतिशत, नेपाल बैंकको २ प्रतिशत र प्राइम कमर्सियलको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । 

समायोजन पश्चात एचआईडिसीएलको मूल्य १७७ रुपैयाँ १४ पैसा कायम भएको छ भने मितेरी डेभलपमेन्ट बैंकको ३६४ रुपैयाँ ९३ पैसा, नेपल बैंकको २८० रुपैयाँ ८८ पैसा र प्राइम कमर्सियल बैंकको २२० रुपैयाँ १० पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन दोस्रो बजारमा एचआईडिसीएलको शेयर १८६ रुपैयाँ, मितेरीको ४१० रुपैयाँ, नेपाल बैंकको २८६ रुपेयाँ ८० पैसा र प्राइम कमर्सियल बैंकको २२८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।