नेप्सेमा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि, कारोबार रकम ४ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३ दशमलब ९५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५६.८६ अंकले बढेर १ हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । नेप्सेमा आज ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये २०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज ५ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज आँधिखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र एनआइबीएल डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।  

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २० करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।