बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले पुस २९ गते ६३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले काठमाडौं, धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १२ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ अर्ब ४० करोड ५९ लाख ४ हजारको आधारमा १० प्रतिशत कर समेत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस वर्ष बैंकले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कूल १७ प्रतिशत लाभांश वितरण गरेको बैंकले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले नगद लाभांशमा जोड दिएको छ ।
बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया