लुम्बिनी विकास बैंकले १२% लाभांश पारित गर्न पुस २६ गते साधारण सभा गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २६ गते, मंगलबार, अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सो सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना गरी ६ जना सञ्चालकहरू निर्वाचन समेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ । 

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।