बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको सुधार भएको छ । आज नेप्से ३.८३ अंकले बढेर १ हजार ८ सय ५८ दशमलब ८९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २७.५४ अंकले घटेर १ हजार ८ सय ५५ दशमलब ०६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज बजारमा सुधार भएपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुग्न सकेन । आज नेप्सेमा ८८ करोड ६० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५४५.७० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाकोे शेयरमूल्य पनि ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५८०.६० रुपैयाँ पुगेको हो ।
आज इष्टर्न हाइड्रोपावर कम्पनी र ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्राइम कमर्शियल बैंकको भएको छ । यसको आज ६ करोड ९३ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया