बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आज मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ निष्काशन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गर्न लागेको कुल ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा पुस ४ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा पुस १४ गते सम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले उक्त ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया