वैशाख लागेसँगै बैंकिङ्ग निक्षेपमा भारी गिरावट, एकैदिन २० अर्बले घट्यो 


काठमाडौं – नेपाल राष्ट्र बैंकको वैशाख १ र २ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा लगानी दुवैमा भारी अंकको गिरावट आएको देखाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट वैशाख २ गते एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सो समयमा बैंकहरुको कर्जा लगानी पनि २० अर्ब रुपैयाँले नै घटेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख २ गते एकै दिन निक्षेप र कर्जा लगानी २०/२० अर्ब रुपैयाँले घटेको हो । वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेर ६८ खर्ब ३६ अर्ब रुपैयाँमा सिमित भएकाे छ । अघिल्लो दिनसम्म कुल निक्षेप ६८ अर्ब ५६ रुपैयाँ थियो।

यसैगरी वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी घटेर ५५ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ । १ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ३२ अर्ब रुपैयाँ थियो । केन्द्रीय बैंकको अनुसार सो समयमा सीडी रेसियो घटेर ७९.४२ प्रतिशत र अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत रहेको  छ।