राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ३ अर्ब माथि, धेरै कमाउनेमा गरिमा


काठमाडौं – चालु आर्थिक वर्षको चैतसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ४ अर्ब रुपैयाँकाे हाराहारीमा नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार विकास बैंकले चैतसम्म ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

विकास बैंकहरुकाे हालको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा विकास बैंकले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका थिए । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा गरिमा विकास बैंक रहेकाे छ । बैंकले समीक्षा अवधिमा नाफा ७.३२ प्रतिशतले बढाएर ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ पुर्याएकाे छ । गत आर्थिक वर्ष बैंकको नाफा ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो । सो अवधिमा कामना सेवा विकास बैंकको नाफा ४८ प्रतिशतले बढेर ४९ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यस्तै, महालक्ष्मी विकास बैंकको १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा ज्योति विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् । ज्योति विकास बैंककाे नाफा १०१ प्रतिशत बढ्दा सांग्रिला बैंककाे ६१.९७ प्रतिशतले बढेकाे छ । यी दुई विकास बैंकले नाफा बढाएर क्रमशः ३० करोड ६६ लाख रुपैयाँ र ४३ करोड ४२ लाख रुपैयाँ पुर्याएका छन् ।

सो अवधिमा लुम्बिनी विकास बैंककाे नाफा ८५ प्रतिशतले घटेर ४ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ । यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५१ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ०.१३ प्रतिशतले कम हो ।