काठमाडौं – नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बन्ने दौडमा रहेका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. भट्टलाई गभर्नर बनाउने सहमती भइसकेको बताइन्छ । यससँगै, डा. भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजिनामा दिइसकेका छन् ।
तर, उनै भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु विशाल थापा र प्रतिभा उप्रेतीले १८औं गभर्नरको दौडमा रहेका डा. भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । उनीहरुको रिटलाई सर्वोच्चले आइतबार नै पेसी तोकेको छ । निवेदकहरुले राजनीतिक दलहरुको सहमतिमा ऐन नै कुल्चिने काम भएको उल्लेख गरेका छन्।
राष्ट्र बैंकको नयाँ नेतृत्वका लागि दुई सत्ताधारी दलबीच लामै रस्साकस्सी चलेर सरकार नै ढल्ने स्थिती बनेपछि नेकपा एमालेले कांग्रेसलाई गभर्नर पद सुम्पिएको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवाले जुनसुकै हालतमा गभर्नर पद आफ्नो दलको भागमा पर्नुपर्ने अडान राखेपछि ओली गलेका थिए । यससँगै, डा. भट्ट गभर्नर बन्ने निश्चित भइसकेको छ ।
गभर्नर बन्ने निश्चित भएका डा. भट्टले आज शुक्रबार नै राजिनामा बुझाएपनि स्वीकृत भइसकेको छैन ।





About Us
प्रतिक्रिया