बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २६ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता शेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
काठमाडौँको बबरमहलमा रजिष्ट्रार्ड कार्यालय रहेको यस कम्पनीले बाग्लुङ जिल्लाको कुश्मीसेरा र सर्कुवा गाविसको सिमाना स्थित १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन शुरु गरी नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ । विद्युत उत्पादनका लागि कम्पनीले २०७२ भदौ ७ गते अनुमति प्राप्त गरेको थियो । सो अनुमति २१०७ असार २७ गतेसम्म कायम रहनेछ ।
आर्थिक वर्ष २०७५/७६ मा आयोजनाको कुल लागत ३१ करोड २२ लाख १८ हजार ८५९ रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ८१ लाख ४५ हजार ९०१ रुपैयाँ रहेको छ । यस अनुसार साधारण लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २० वर्ष ६ महिना रहेको छ ।
प्रतिक्रिया