सुपरमाई हाइड्रोपावरको आईपीओ आजदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्रीमा

सुपरमाई हाइड्रोपावरको आईपीओ आजदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सुपरमाई हाइड्रोपावर कम्पनीले आजदेखि आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । 

सुपरमाई हाइड्रोपावर लिमिटेड कम्पनीले आफ्नो जारी रू. ५० करोड को १० प्रतिशतले हुन आउने रू. ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा र बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीको भनाई छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीले छिटोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्

वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।