सुपर मादी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सुपर मादी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सुपर मादी हाइड्रोपावर लिमिटेडले आज अर्थात मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गर्न लागेको हो ।

त्यसैगरी, कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पुस ५ गतेसम्म सो शेयरका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुस २० गते सम्म लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो शेयरमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ  ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।