नेपालको अर्थतन्त्रका चुनौतीका वारेमा सिबिफिन र आईएमएफवीच छलफल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग गत मंसिर १६ गते भेटघाट तथा छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलका अवसरमा आईएमएफ प्रमुखलगायतलाई स्वागत गर्दै सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभाव लगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ्ग क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसमक्ष आग्रह गरे ।

सिबिफिनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगको छलफल बैठकमा बोल्दै आवासीय प्रतिनिधि श्री टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिदा ब्याजदर समेत उच्च भइ मुद्रास्फिति बढेको बताए । वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने बताए । 

नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको वीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा सुझाव दिए । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत श्री जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फण्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफै पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै, त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए । 

उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरुको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रकोनिर्माणमा सहयोग पुग्नेमा वहाँको विशेष जोड रहेको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरुमा आइएमएफ र सिबिफिनवीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको औल्याउँदै यस भेघघाट तथा छलफलले नेपालको समग्र अर्थतन्त्रलाई गतिशिलता र स्थायित्व प्रदान गर्न संभावनाका ढोकाहरु उजागर गर्ने अपेक्षा व्यक्त गरे ।

सबिफिन कार्यालय, सुन्धारामा सम्पन्न भएको उक्त छलफल बैंठकमा सिबिफिनका महासचिव केशव बहादुर रायमाझी, कोषाध्यक्ष तुलसीराम अग्रवाल, कार्यकारी सदस्यहरु तुलसीप्रसाद गौतम, उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल, महेन्द्रकुमार गोयल, दशरथ रिजाल र सिबिफिनका महानिर्देशक डा. गोपाल प्रसाद तिवारी लगायतले नेपालको बैंक तथा वित्तीय क्षेत्रका समस्या एवं चुनौतिहरुका विषयमा धारणाहरु राखेका थिए ।