कालिञ्चोक दर्शनको आईपीओ भोलीदेखि निष्कासनमा, वैदेशिक रोजगारीमा गएका नेपालीको १०% कोटा लागू हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गते बुधवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी रू. ६० करोडको २ प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा निष्कासन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् रू. १० करोड ८० लाख बराबरको १० लाख शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्नेछ ।

आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मङ्सिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने मङ्सिर २८ गतेभित्रै आवेदन दिनुपर्नेछ । दुवै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।