नेप्सेमा २५.५७ अंकको वृद्धि, कारोबार रकम बढेर १ अर्ब ७१ करोड माथि

नेप्सेमा २५.५७ अंकको वृद्धि, कारोबार रकम बढेर १ अर्ब ७१ करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन कारोबारको दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । निर्वाचन अघिको अन्तिम कारोबारको दिन शेयर बजारमा आज २५.५७ अंकले बढेर १ हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.४० अंकले बढेर १ हजार ९ सय ११ दशमलब २६ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ७१ करोड ५४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयरमूल्य घटेको छ, २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

दुई कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जस मध्ये सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले बढेर प्रतिकित्ता ३८८.४० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३४७.८० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार आज फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी हाइड्रोपावरको भएको छ । यसको आज १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।