युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज १ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

कम्पनीले मङ्सिर २० गतेको लागि साधारणसभा गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२१५ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १२१५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीको साधारणसभामा संचालकको निर्वाचन भने नहुने भएको छ । संचालकको निर्वाचन रोक्न उच्च अदालत पाटनले गत वर्ष नै आदेश दिएको र त्यस सम्बन्धि मुद्दाको किनारा अझै नलागेकोले संचालकको निर्वाचन नहुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ (२०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्म) को नाफा नोक्सान हिसाव, वासलात, नगद प्रवाह विवरण सहितको २०७९ आषाढ मसान्त सम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

सभाले श्रावण १, २०७९ देखि शुरुहुने आगामी आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, संञ्चालक समितिको सिफारिस अनुसार लाभांश स्वीकृत गर्ने, युनिलिभर नेपाल लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरूमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, अध्यक्षको अनुमतिमा अन्य कुनै पनि विषयहरुपेश गर्ने, कम्पनीको नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त ठानेका संशोधनका प्रस्तावहरु पारित गर्नेछ ।