मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका आजबाट लागू, अब शेयर कारोबार १५ दिनभन्दा बढी रोक्का नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड(सेबोन) ले शेयर कारोबार रोक्का सम्मबन्धी निर्देशिका बिहीवारदेखि लागू गरेको छ । 

सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो । स्वीकृत निर्देशिका लागू भएको हो। 

उक्त निर्देशिका लागू भएसँगै अब मर्जरका लागि कुनैपनि कम्पनीको शेयर कारोबार अधिकतम १५ दिनभन्दा बढी रोक्का हुने छैन । यसअघि कति अवधिसम्म कारोबार रोक्का गर्नुपर्ने भन्ने स्पष्ट नीति थिएन । यही कारण विभिन्न कम्पनी तथा संस्थाहरुको शेयर कारोबार एकीकृत कारोबार भएको धेरै महीनासम्म पनि रोक्का हुने गरेको थियो ।

निर्देशिका अनुसार एकीकृत व्यवसायीक कारोबार गरेको मितिले गाभ्ने र गाभिने तथा प्राप्तिको हकमा संस्थाको शेयर मिलान, धितोपत्र पान दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोबार रोक्काका लागि कुनै पनि कम्पनीले धितोपत्र बजारमा निवेदन दिनुपर्ने छ ।

निर्देशिका लागू हुनुअघि मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरुले अहिलेको व्यवस्था अनुसार मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन सक्नेछन् । साथै यसअघि नै मर्जरको प्रक्रियामा रहेका कम्पनीहरुले संस्थापक शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा गर्न नेप्से तथा केन्द्रीय निक्षेप प्रदायक संस्था सीडीएस समक्ष निवेदन दिनुपर्ने हुन्छ ।

केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले पनि सम्बन्धित संस्थाका संस्थापक शेयरधनी बाहेकका शेयर कारोबार तत्काल फुकुवा गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

हाल मर्जर तथा प्राप्तिको क्रममा रहेका करीब ३४ ओटा कम्पनीको शेयर कारोबार रोक्का छ ।