कनेक्ट आइपिएसमार्फत तिहार र छठको उपलक्ष्यमा निःशुल्क फण्ड ट्रान्सफर

कनेक्ट आइपिएसमार्फत तिहार र छठको उपलक्ष्यमा निःशुल्क फण्ड ट्रान्सफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
आउँदो तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । सो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ । 

चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका निम्ती एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, फन्ड ट्रान्सफर वा सेन्ड मनि मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

यस निःशुल्क फण्ड ट्रान्स्फरको प्रावधानले फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीका लागि मोबाईल बैंकिङ्गको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाड पर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आइपिएस मार्फत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५८२ अर्ब बराबरको १ करोड १० लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।