सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, ९% नगद लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनले आज १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा सम्पन्न भएको साधारण सभामा बैंकले लाभांश पारितसंगै विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ । 

वाणिज्य बैंकहरूमध्ये यस वर्ष सबैभन्दा पहिला यो बैंकले लाभांश पारित गरेको हो । बैंकले यस वर्ष कर समेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६० रुपैयाँ बराबरको नगद लाभांश बैंकले वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज २८ गते एक दिन बुक क्लोज गरेको थयो । बुक क्लोजको आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य रहेका थिए ।