बाराही हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बाराही हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (कात्तिक ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।