बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले भोलि कात्तिक ४ गते शुक्रवारदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि २ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । उक्त शेयर खरीदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा मंसिर ४ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा कम जोखिम अर्थात् उच्च सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितलाई आईपीओ बाँडफाँट पछि सर्बसाधारणका लागि ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने बिक्री प्रबन्धकले उल्लेख गरेको छ ।



About Us
प्रतिक्रिया