बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋणको स्रोत जुटाउनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल प्रयोग गर्न लागेको हो । बैंकले यसअघि नै जारी गरेको ट्रेजरीको म्याद समाप्त भएकाले पुनः नवीकरण गर्न लागेको हो ।
बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २० रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक २९ गते, ९१ दिने ट्रेजरी आगामी माघ ३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख ५ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० असोज ३० गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।



About Us
प्रतिक्रिया