काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले महिला केन्द्रित बीमालेख ल्याउने योजनामा काम गरिरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले बताएकी छिन् । पछिल्लो समयको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ बीमालेख ल्याउनुपर्ने अवस्थामा महिलाहरूको लागि सहज र आवश्यक हुने पोलिसी ल्याउन काम भइरहेको उनले बताइन् ।
बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले भनिन्, ‘बीमा जगतमा व्यवसाय मात्र नभएर बीमा लेखमा सृजनशीलता पनि आवश्यक भैसकेको छ । यस्तो अवस्थामा महिलाहरूको लागि हुने पोलिसी ल्याउनु पर्छ जसले गर्दा बीमाको पहुँच पनि बढ्छ र बीमा बजारमा सृजनशील पोलिसी पनि आउँछ । ’
देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिलाको आर्थिक उत्थान र समावेशिताका लागि पनि बीमा कम्पनीहरूले विचार गर्नुपर्ने ढिलो भइसकेको छ । जीवन होस् वा निर्जीवन कुनै पनि बीमा कम्पनीले कुल जनसङ्ख्याको यति ठुलो हिस्सा ओगटेको महिला लक्षित बीमा योजनाहरू प्रचलनमा ल्याउन सकेका छैनन् । इनोभेसनमा पनि बीमा कम्पनीहरूले ध्यान दिने हो भने बीमा जगतमा जनमानसको चासो पनि बढ्थ्यो उनले भनिन्।
पछिल्लाे समय बीमामा व्यवसाय मात्र नभएर बीमा लेखमा सृजनशीलता पनि खोज्न थालिएको छ । यस्तो अवस्थामा बजारको आवश्यकता हेरेर कम्पनीहरूले नयाँ- नयाँ बीमालेख ल्याउनुपर्ने हुन्छ । ‘बजारमा बीमाको दायरा बढाउनका लागि कुन पोलिसी आवश्यक छ, त्यो पोलिसीहरूको सिर्जना गरी बीमा बजारमा केही हद सम्म सुधार गर्न सकिन्छ भन्ने मलाइ लाग्छ,’ सीईओ श्रेष्ठले भनिन्।
महिलाहरूको पाठेघरसम्बन्धी पोलिसी निकाल्ने हो भने धेरै महिलाहरूले उपचार नै नपाएर मर्न नपर्ने उनको बुझाइ छ । यसैले कम्पनीले पाठेघर क्यान्सर, स्तन क्यान्सर लगायतका महिलाको स्वास्थ्य सम्बन्धी पोलीसीहरू ल्याउने तयारी गरिरहेको सीईओ श्रेष्ठले जानकारी दिइन् ।
जीवन बीमामा वैदेशिक रोजगार बीमा म्यादी बीमा र निर्जीवन बीमामा मोटर बीमाले मात्र बजार चलेको छ भन्न सकिन्छ । अन्तर्राष्ट्रिय अवस्थामा बीमा क्षेत्रमा नयाँ नयाँ प्रोडक्टको सुरुवात भएपनि नेपालको बीमा बजारमा पुरानै पोलिसीमा बीमा कम्पनीबीच नै अस्वस्थ प्रतिस्पर्धा हुने गरेकाे उनले बताइन् । अन्तर्राष्ट्रिय बजारमा बीमाको गति तीव्र अवस्थामा जाँदै गर्दा नेपालमा बीमाको प्रोडक्टमा काम गर्न आवश्यक रहेको उनकाे भनाइ छ ।
प्रतिक्रिया