कुमारी क्यापिटलले आराभा नेपाल एग्रिकल्चरलाई ‘वे टु लिस्टिङ्ग’ सेवा उपलब्ध गराउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच ‘वे टु लिस्टिङ’ सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ । जसमा आएपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनिका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडका तर्फबाट कम्पनिका अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरेका छन् ।

इजराईलबाट कृषिसम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ । साथै कम्पनिले आफ्नो सहायक कम्पनि ए. एन. एम. सि. एग्रो प्रा. लि. मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्रि–वितरण समेत गर्दै आईरहेको छ । 

आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड तथा गण्डकि प्रदेश सरकार, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपाल आर्मी व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र, र कर्णालि प्रदेशका स्थानिय निकायसँगको साझेदारीमा व्यवसायिक ‘इन्कुवेसन सेन्टर’ मार्फत लर्न एण्ड डु तालिम सञ्चालन गर्दै आइरहेको छ ।

यसका अतिरिक्त कम्पनिले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालन हुने व्यवसायिक कृषि उद्यम विकास कार्यक्रमको कार्यान्वयन साझेदारको रुपमा समेत कार्य गर्दै आइरहेको छ । नेपालको कृषि क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याए वापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट “सर्वोत्कृष्ट उद्यमि पुरष्कार” तथा “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट पुरस्कृत भइसकेको छ ।