बैंकहरूले राष्ट्र बैंकको निर्देशन अनुरुप प्राथमिक क्षेत्रमा कर्जा लगानी गर्न सकेनन्

बैंकहरूले राष्ट्र बैंकको निर्देशन अनुरुप प्राथमिक क्षेत्रमा कर्जा लगानी गर्न सकेनन्


बैकिङ्ग समाचार, काठमाडौं ।
धेरै वाणिज्य बैंकहरूले राष्ट्र बैंकको निर्देशन अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैनन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वाणिज्य बैंकहरूको वित्तीय सूचकसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

निर्देशन अनुसार गत असारसम्म वाणिज्य बैंकहरूले कृषिमा मात्र कुल कर्जाको १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था थियो । उक्त अवधिसम्म १० वटा बैंकले मात्र निर्देशित सीमा पुर्‍याएका छन् । बाँकी १६ वटा बैंकको कृषि कर्जा उनीहरूको कुल कर्जाको १२ प्रतिशतभन्दा कम छ । २६ वटा वाणिज्य बैंकहरूको कृषि लगानी औसत १२.३४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, गत असारसम्म कुल कर्जाको कम्तिमा ६ प्रतिशत उर्जामा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन पालना भएको छैन । तथ्यांक अनुसार गत असारसम्म १२ वटा वाणिज्य बैंकको मात्र उर्जामा ६ प्रतिशतभन्दा धेरै लगानी छ । बाँकी १४ बैंकको लगानी निर्देशित सीमा भन्दा कम छ । सबै वाणिज्य बैंकको यस्तो कर्जा भने औसत ५.७१ प्रतिशत छ । साना तथा मझौला उद्यमी कर्जामा पनि राष्ट्र बैंकको निर्देशन बराबर धेरै बैंकले लगानी गर्न नसकेको देखिन्छ ।