बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेड भदौ १७ गतेदेखि सार्वजनिक निष्कासन गरेको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र भदौ २७ गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो । छिटो अवधि भदौ २१ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि भदौ २७ गतेसम्म विक्री खुला गर्ने जानकारी कम्पनीले सुचनामार्फत गराएको हो ।
बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणलाई वितरण गरिने कुल कित्ता ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पुर्ण शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी आईआर त्रिपल ए रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया