एक्सेल विकास बैंकले बोनसपछि ३०% हकप्रद जारी गर्ने, असार १४ मा साधारणसभा 

एक्सेल विकास बैंकले बोनसपछि ३०% हकप्रद जारी गर्ने, असार १४ मा साधारणसभा 


बैकिङ्ग समाचार । 
एक्सेल डेभलपमेन्ट बैंकले बोनस पश्चात हकप्रद जारी गरेर पूँजीवृद्धि गर्नेभएको छ। बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस वितरणपछि कायम हुने पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने भएको हो।

बैंकले बोनस अनुमोदन र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न असार १४ गते आइतबार होटल टाइमलेस मुमेन्टस विर्तामोड, झापामा अपह्रान्ह १ बजे साधारण सभा आह्वान गरेको छ।

सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५।७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.१० प्रतिशत (११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ) बोनस शेयर र सो बोनसको कर प्रयोजनका लागि ०.९० प्रतिशत (६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद) लाभांश अनुमोदन गर्नेछ।

यस्तै बैंकले बोनस वितरणपछि कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयकोका ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

बैंकको तेह्रौं वार्षिक साधारण सभाले चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको ५५ प्रतिशतले हुन आउने ३८ करोड ९ लाख ७० हजार ६८६ रुपैयाँको हकप्रद प्रस्ताव पारित गरेपनि सो हकप्रद निष्काशन हुन नसकेपछि बैंकले ५५ प्रतिशत हकप्रदलाई खारेज गरि बोनसपछि ३० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो।

यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले चैत ७ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने भएको छ। यसअनुसार चैत ६ गते बिहीबारसम्म कायम बैंकका शेयरधनीले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्। 

बैंकले यसअघि चैत २० गते साधारण सभा आह्वान गरेपनि कोरोना भाइरस संक्रमणका कारण रद्ध भएपछि पुन बोलाइएको हो।