बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
यो ऋणपत्र छिटोमा भदौ २१ गतेसम्ममा विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ ३१ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पुर्ण शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम भएको संस्था जनाउछ ।
प्रतिक्रिया