सिटिजन्स बैंकका कार्डवाहकले ठमेलको रमादा एन्कोर होटलमा विशेष छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको ठमेलस्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, इकेवाईसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

सटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।