उतारचढावका बिच नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकममा भने भारी गिरावट

उतारचढावका बिच नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकममा भने भारी गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको सुधार भएको छ । आज नेप्से ३.७६ अंकले बढेर १ हजार ९ सय ९३ दशमलब ०२ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ३४ दशमलव ४२ अंकले घटेर १ हजार ९ सय ८८ दशमलव २० को विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकममा भने भारी गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १११ वटा कम्पनीको शेयरमूल्य बढेको छ, ७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.४८ अंकले बढेर प्रतिकित्ता १०४९ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज रुरु जलविद्युत परियोजनाको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज ११ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।