बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, ७५ करोडको पुँजी भएका ७ वटाले लाइसेन्स पाउने

बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, ७५ करोडको पुँजी भएका ७ वटाले लाइसेन्स पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नको लागि लाइसेन्स खुला गरेको छ । भदौ १० गते शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी समितिले बढीमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी यस्तो आव्हान गरेको हो । 

जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ ।

नेपाल सरकारको आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख भएको स्मरण समितिले प्रकाशित गरेको सूचनामा गराईएको छ । यस्ता कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति तथा लगानीकर्ताहरुका लागि विभिन्न सर्तहरु राखी समितिले सूचना प्रकाशित गरेको छ । 

समितिका अनुसार इच्छुकले सूचना जारी भएको ३५ दिनभित्रमा बीमा समितिमा प्रस्ताव लगिसक्नु पर्ने छ । तोकिएको अन्तिम दिन पनि दिनको १२ बजेभित्रमा प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी समितिमा दर्ता हुनेपर्ने उक्त सूचनामा उल्लेख छ ।

समितिले प्रकाशित गरेको सूचनामा भनिएको छ – 'न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्‍याई बीमाको विकास तथा विस्तार गर्न र नेपाल सरकारको आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघुबीमा कम्पनीको स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट देहायका सर्तहरूको अधीनमा रही प्रस्ताव पेस गर्न यो सूचना प्रकाशित गरिएको छ ।'

\"\"