मोबाइल वालेटमा राखिएको रकममा अब ब्याज पाईने

मोबाइल वालेटमा राखिएको रकममा अब ब्याज पाईने


बैकिङ्ग समाचार । 

भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्ना प्रयोगकर्तालाई वालेटमा राखिएको रकममा ब्याज उपलब्ध गराउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७ जारी गर्दै वालेटको रकममा ब्याज दिन सकिने व्यवस्था गरेको हो ।

नयाँ विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीले नीतिगत व्यवस्था गरेर प्रयोगकर्तालाई वालेटमा रहेको पैसामा ब्याज दिन सक्नेछन् ।

‘संस्थाले नीतिगत व्यवस्था गरी ग्राहकको वालेटमा रहेको मौज्दात रकममा बैंकको स्वीकृती लिई ब्याज प्रदान गर्न सक्नेछ । यसरी ब्याज प्रदान गर्ने स्वीकृति प्रदान गर्दा बैंकले आवश्यक शर्तहरु तोक्न सक्नेछ,’ विनियमावलीको विनियम २२ को उपविनियम ६ मा उल्लेख छ ।

यहि दफाअनुसार आगामी दिनमा ईसेवा, आईएमईपे, खल्ती, प्रभु पेलगायतका कम्पनीहरुले आफ्ना सेवाग्राहीहरुलाई वालेटमा रहेको रकमको आधारमा ब्याज दिन सक्नेछन् ।

यसका साथै कम्पनीले ग्राहकहरुलाई नगद फिर्ता, बोनस, वा अन्य प्रकारका छुटहरु सहितका योजना समेत दिन सक्नेछन् । तर त्यसको जानकारी भने बैंकलाई गराउनुपर्नेछ ।