धौलागिरी लघुवित्तको आज बाँडफाँट गर्ने भनिएकाे आईपीओ बुधबार मात्रै बाँडफाँट हुने

धौलागिरी लघुवित्तको आज बाँडफाँट गर्ने भनिएकाे आईपीओ बुधबार मात्रै बाँडफाँट हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको शेयर भदौ ८ गते (बुधबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरीमा बुधबार बिहान शेयर बाँडफाँट हुने भएको हो ।

क्यापिटलले आइतबार नै प्रिअलटमेन्टको काम सकाएपनि केहि काम बाँकी रहेकाेले बुधबार मात्रै शेयर बाँडफाँट गर्ने तयारी भएको जनाएको छ । यस अघि क्यापिटलले साेमबार बाँडफाँट गर्ने जनाएकाे थियाे । 

लघुवित्तको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ७०.४५ गुणा बढी हुन आउँछ ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहने ३ लाख ८ हजार २९५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

लघुवित्तले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३० हजार ८२९ जनाले मात्रै शेयर पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।