बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अवसर इक्विटी फण्डलाई प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।
बोर्डका अध्यक्ष रमेश कुमार हमालले बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले उक्त कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालनको लागि अनुमति दिएको जानकारी दिएका हुन् । उनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम आवश्यक कागजात पुरा गर्ने कुनै पनि कम्पनीलाई यस प्रकारको लाईसेन्स वितरण गर्ने बताए ।
हालसम्म बोर्डले दुई कम्पनीहरूलाई प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल सञ्चालनको अनुमति दिएको समेत हमालको भनाई छ । यस अघि बोर्डले ग्लोबल इक्विटी फण्डलाई प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल सञ्चालनको लाईसेन्स दिएको थियो । भदौ महिनाभित्र १० कम्पनीहरूलाई प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको लाईसेन्स प्रदान गर्ने तयारी बोर्डको रहेको समेत हमालले बताएका छन् ।
नेपालको धितोपत्र बजारमा कारोबार गर्नका लागि औजारहरू थप गर्दै जाने योजना अनुरुप बोर्डले प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको लाईसेन्स वितरणलाई प्राथमिकतामा राखेको हो । हाल धितोपत्र दोस्रो बजारमा कारोबारका लागि शेयर, ऋणपत्र, सामूहिक लगानीकोषको इकाई मात्र उपलब्ध छ ।
बोर्डले प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू गरिसकेको छ ।



About Us
प्रतिक्रिया