बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट” मुद्धती खाता सञ्चालनमा ल्याएको छ । विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको हो ।
व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ । सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा विदेशमा रहेका ग्राहकहरु द्वारा अनलाइनबाटै भिडियो केवाईसी अपडेट गरि संचालनमा ल्याउन सकिनेछ ।
साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ । यो योजना २०७९ भदौ महिनासम्मको लागि लागु हुनेछ ।
त्यसैगरी, रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि ‘ज्योति दुई गुणा डिपोजिट’ मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि संचालनमा ल्याएको छ ।
ज्योति विकास बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
प्रतिक्रिया