पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १ अर्ब २२ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जसका अनुसार १० लाख ६७ हजार १८० जनाले १ करोड २२ लाख ६४ हजार ४४० कित्ताका लागि आवेदन दिएका हुन् ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गदै उल्लेखित शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । खरिदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेवसाइट र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।