बैंकिङ्ग समाचार, काठमाडौं ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया