बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर तामाकोशीको चौधौ वर्षिक साधारणसभाले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा शुक्रबार सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा (१०० प्रतिशत) हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
वार्षिक साधरणसभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रस्ताव पेश गरे ।
उनले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्कासन गर्न लागेको बताए ।
निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन,रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताए ।
उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य रहेको बताए । उनले त्यसको लागि पनि तामाकोशी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको जानकारी दिए ।
उनले रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गरी विस्तृत अध्ययन गर्ने बताए । उनका अनुसार उक्त आयोजनाकाे साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । अहिले अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कम्पनी घाटामा रहेको कारण शेयरधनीलाई लाभांश भने वितरण नगर्ने जनाएको छ ।
यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया