सनराइज बैंकको सहयोगमा विपन्न समुदायका लागि ‘खाद्य बैंक’ स्थापना

सनराइज बैंकको सहयोगमा विपन्न समुदायका लागि ‘खाद्य बैंक’ स्थापना


बैकिङ्ग समाचार ।
 सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा यहाँको चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ । लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो ।

सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यान्न उपलब्ध गराएको हो ।

वित्तीय संस्था बैंकको सामाजिक दायित्वका लागि केही काम गर्नुपर्ने उद्देश्यअनुसार महामारीमा राहतका लागि खाद्यान्न (चामल) उपलब्ध गरिएको उनले बताए। उनले भने, “यही सामाजिक दायित्वअनुसार जुम्लाको चन्दननाथ नगरपालिकालाई ५० हजार रकमबराबर २५ किलोको ३७ बोरा चामल उपलब्ध गराएको हो ।”

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भने, “अहिले कोरोना भाइरसको महामारीले मुलुक नै सङ्कटमा परेको छ । यो सङ्कटको घडीमा राज्यलाई सहयोगको आवश्यकता परेका छ । लामो समयदेखिको लकडाउनले यहाँका विपन्न तथा ज्याला मजदुरी गरी बिहान बेलुका छाक टार्ने घरपरिवार प्रभावित भएका छन् ।”

नगरपालिकाले आफ्नोतर्फबाट राहत वितरण गरे पनि अहिले अपुग नै भएको छ । विपन्न घरपरिवारका लागि नगरपालिकाले वित्तीय संस्था बैंकलाई पनि राहतका लागि सहयोग गर्न अनुरोध गरेका थियौँ नगरप्रमुख सेजुवालले भन्नुभयो सोहीअनुसार सनराइज बैंकले सहयोग गरेको हो ।

चन्दननाथ नगरपालिकाले दुई हजार ५३९ जनालाई राहत वितरण गरेको जनाएको छ । विपन्न वर्ग, जेष्ठ नागरिक, अपाङ्ग, सुत्केरी महिला र बाहिर जिल्लाबाट जुम्ला आएर लकडाउनमा अलपत्र परेका नागरिकलाई राहत वितरण गरेको हो । यसअघि वित्तीय संस्था ग्लोबल आइएमई बैंक शाखा जुम्लाको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’ स्थापना गरिएको थियो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार बैंकको सहयोगमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाबाट चामल खरिद गरी अहिले समन्वयमा स्टोर गरिएको छ ।

स्थानीय तहको माग र आवश्यकताका आधारमा वितरण हुने उनले बताए । ग्लोबल आइएमई बैंक लिमिटेड शाखा जुम्लाका प्रमुख विनोदकुमार आचार्यका अनुसार ३० किलोको १५० प्याक चामल ल्याएर स्थानीय तहमा वितरण गर्ने गरी समन्वयमा बुझाएका छौँ । उनले भने, “दुई लाख २५ हजार रकमबराबर राहतका लागि वितरण गर्न चामल उपलब्ध गरिएको हो ।”