कोरोनाः सरकारले १० अर्ब भनेकोमा ८ अर्ब मात्रै खर्च, यस्तो छ वास्तविकता

कोरोनाः सरकारले १० अर्ब भनेकोमा ८ अर्ब मात्रै खर्च, यस्तो छ वास्तविकता


बैकिङ्ग समाचार ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएको खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रणका लागि गठित सीसीएमसीले शनिबार सार्वजनिक गरिएको विवरण अनुसार हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । 

संसद र सडकमा कोरोना नियन्त्रणका लागि खर्च गरिएको १० अर्ब रुपैयाँको हिसाब किताब माग्दै आन्दोलन चर्किएपछि सरकारले वास्तविक खर्च विवरण सार्वजनिक गरेको हो । 

जसमा १० अर्ब नभएर ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ मात्रै खर्च भएको देखिन्छ । कोरोना नियन्त्रणका लागि हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ भने रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । 

त्यस्तै गहृ मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । पर्यटन मन्त्रालयले ५ करोड २० लाख रुपैयाँ खर्च गरेको छ भने शहरी विकास मन्त्रालयले एक करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । 

यसरी संघीय सरकारका मन्त्रालय तथा निकायहरुले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुल ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ मात्रै खर्च गरेको देखिन्छ । सात वटा प्रदेश सरकारहरुले एक अर्ब ३० करोड ४ लाख ९९ हजार रुपैयाँ खर्च गरेका छन् भने ७५३ वटा स्थानीय तहहरुले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च गरेका छन् । 

सरकारले खडा गरेको कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ ।