बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओ मध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाकी २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ छिटोमा भदौ ५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १४ गतेसम्म विक्री अवधि लम्बिनेछ । इच्छुक खरीदकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरीदका लागि लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखाहरूबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाईट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि कम्पनीको हालको अनुमानित लागत रू. ९५ करोड ६ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १९ करोड १६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ ।
यस कम्पनीको अधिकृत पूँजी रू. ६३ करोड २६ लाख रहेको छ भने जारी पूँजी रू. ३२ करोड २६ लाख छ । कम्पनीमा हाल चुक्ता पूँजी भने रू. ३२ करोड २६ लाख रहेको छ । संस्थापक तर्फ हाल ५१ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर विक्री तथा बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ६३ करोड २६ लाख रूपैयाँ कायम हुनेछ ।
प्रतिक्रिया